काठमाडौँः राष्ट्रिय जनगणना २०७८ मा ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेका छन् ।
जनगणनाको नतिजाले नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएकोमा ‘गणना जाँच सर्वेक्षण(पीईएस)मा छुटेको पुष्टि भएको हो । जनगणनाको प्रभावकारिता जाँच गर्न सर्वेक्षण हुने गरेको छ ।
सर्वेक्षणबाट पत्ता लागेका जनगणनामा छुट मानिसहरू समेत जोड्दा नेपालको वास्तविक जनसङ्ख्या २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ । तर नेपालको जनसङ्ख्याको आधिकारिक तथ्याङ्कहरूमा भने यसअघि सार्वजनिक भएको २ करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुने जनाइएको छ ।
कुल २ दशमलव ७३ प्रतिशत त्रुटि देखिएको जनगणनामा छुटपुट २.५८ प्रतिशत छ र दोहोरो गणना ०.१५ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।
२०७८ साल भन्दा अगाडि तथ्याङ्क कार्यालय आफैले जनगणनाको जाँच सर्वेक्षण गर्दै आएकोमा सैद्धान्तिक अवधारणा र संयुक्त राष्ट्रसङ्घको सुझाव अनुसार यस्तो सर्वेक्षण स्वतन्त्र र सो क्षेत्रमा दक्षता प्राप्त निकायबाट गराउनु पर्छ भन्ने मान्यताअनुसार २०७८ सालको पूर्णता र शुद्धता मापन गर्न कार्यालयले श्रम अध्ययन कार्यक्रम, त्रिभुवन विश्वविद्यालयलाई यसको जिम्मेवारी दिएको थियो । सोही अनुसार विश्वविद्यालयले जनगणनामा ७ लाख ७१ हजार जना व्यक्तिको जनगणनामा छुट भएको निष्कर्ष निकालेको हो ।
२५ कात्तिकदेखि ९ मंसिर २०७८ सालमा भएको जनगणनाको नतिजा जाँच सर्वेक्षणको काम २०७८ सालको माघ महिनाको अन्तिम साताबाट सुरु गरी २०७९ साल जेठ मसान्त भित्र सम्पन्न गरिएको थियो । जनगणना गर्दा र नतिजा प्रकाशनकै क्रममा धेरै मानिसहरूले आफूकहाँ गणक नपुगेको बताएका थिए ।