बाजुराः बाजुराको बुढीगंगा नगरपालिकाका चार जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाका इन्जिनियर उपेन्द्र साउँद, प्रधानमन्त्री रोजगार संयोजक गोविन्दबहादुर थापा, शिक्षा शाखाका प्राविधिक सहायक डम्मबहादुर थापा र प्रशासन सहायक वसन्तबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु चारै जनाविरुद्ध अभद्र व्यवहारको जाहेरी परेपछि बुधवार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रविन्द्र कठायतले बताए । नगरपालिकामा सेवा लिन गएका सेवाग्राही दिलिप केसीमाथि अभद्र व्यवहार गर्दै गाली गलौज गरिएको र ज्यान मार्ने धम्की पनि दिइएको भन्दै केसीका भाइले भिडिओसहित उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कठायतले बताए ।
उनका अनुसार असार २१ गते केसीले नै नगरपालिकामा अभद्र व्यवहार देखाएको भन्दै नगरपालिकाका तिरबाट सुरुमा उजुरी परेको थियो । केसीविरुद्ध नगरपालिकाले आपराधिक उपद्रव गर्न नहुने व्यवहारमा मुद्दा दर्ता गराएका थिए । त्यसपछि केसीलाई प्रहरीले पक्राउ गरेको थियो । पछि केसीका भाइले आफ्ना दाइमाथि दुव्र्यवहार भएको भन्दै भिडिओसहित जाहेरी दिएका थिए ।
अहिले दुबै पक्षको मुद्दा दर्ता भई पाँचै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक कठायतले बताए ।