बैतडी: बैतडीका एक ‘रिसकाटा’ हजुरबुवाले आफ्नै २ नातिलाई ‘मरणासन्न’ हुनेगरि कुटेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका- ६ मुडेलीधारमा ५० वर्षका गणेश साउदले नातिहरु २ वर्षीय रेशम साउद र ८ वर्षीय रिजन साउदलाई कुटेर घाइते पारेका हुन्।
हजुरबुवको कुटपिटबाट उनीहरुको अवस्था चिन्ताजनक बनेको छ। घाइते दुवै बालकहरुको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डिएसपी प्रेम बहादुर शाहीले बताए। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
बिहीवार हेरचाहा गर्न हजुरबुवाको जिम्मा लगाएर बालकका आमा र हजुरआमा घाँस काट्न गएको बेला उक्त घटना भएको प्रहरीले जनाएको छ। कुटपिट गर्नुको कारण भने खुलेको छैन। घाइते रोसन र रिजनका बुबा दिपक साउद त्यो बेला धनगढीमा थिए।
कुटपीट गर्ने गणेश साउदलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।