धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीको टाइगर टोलीलाई बदनाम गराउन खोजिएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली अन्तरगतको टाइगर टोलीका प्रमुखसमेत रहेका हवलदार लालबहादुर चन्दले केही व्यक्ति र मिडियाले अनर्गल प्रचार गरिरहेको महेन्द्रनगरपोष्टलाई बताए।
उनका अनुसार धनगढीमा भन्सार छलीको सामान नै नसमातेको विषयलाई लिएर बदनाम गराउन खोजिएको हो।
प्रहरीको टाइगर टोलीले भन्सार छलीका सामान समातेर गायब गरेको भन्दै निराधार आरोप लगाइएको उनको दाबी छ।
सो टोलीमाथि शनिबार बरामद भएको भन्सार छलीको सामान लुकाएको आरोप लागेको हो। तर त्यस्तो नगरेको सो टोलीले जनाएको छ।
धनगढी–२ फनपार्क नजिक चक्रपथबाट हवलदार लालबहादुर चन्द र सागर लुहारको टोलीले भन्सार छलीको एक पोका सामान बरामद गरेर व्यापारीलाई बुझाएको आरोप लगाइएको छ। तर हवल्दार चन्दले भने सामान बरामद नै नगरेको जनाए।
यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले पनि यस विषयमा कुनै गुनासो नाअएको र मिडियाले गलत कुरालाई प्रचार गरिरहेको बताए।