काठमाडाैं: सशस्त्र प्रहरी बल, नेपालले आइतबार वरिष्ठ उपरीक्षकदेखि सहायक हवल्दारसम्म बढुवाको लागि सूचना प्रकाशित गरेको छ ।
सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फ वरिष्ठ उपरीक्षक, उपरीक्षक, नायव उपरीक्षक, निरीक्षक, बरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक, सहायक निरीक्षक, बरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि आइतबार एकै पटक सूचना प्रकाशित गरिएको हो ।
यसैगरी सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा इन्जिनियरिङ्गतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक हवल्दार पदमा समेत बढुवाको लागि सूचना प्रकाशित गरिएको छ ।
यसैगरी आइतबार नै लेखा उप–समूहतर्फ ५ जना र कानून उप–उपसमूहतर्फ १ जनाको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिससमेत गरिएको छ । आइतबार नै १ सय ९८ जना हवल्दारलाई बरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ ।
यो प्रक्रियासँगै २०६४ सालमा भर्ना भएको सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनेछन् ।
यसैगरी २०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायव उपरीक्षकमा रहेकोमा सो टोलीसमेत सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा हुनेछ । यसैगरी विल्लादार जवानतर्फ समेत एउटै दर्जामा लामो समय बस्नुपर्ने अवस्थामा यसबाट तल्लो दर्जासमेत लाभान्वित हुने सशस्त्रका सहायक प्रवक्ता शैलेन्र्द थापाले बताए।
अहिले बढुवा नभएको भए यी दर्जाहरुमा अझै ७/८ वर्ष बढुवा नहुने अवस्था सृजना हुने भएको थियो । तर सूचना प्रकाशितसँगै लामो समयसम्म बढुवा नहुने समस्या हट्ने भएको छ ।
विगत १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया पनि सुरु भएको छ, भने सशस्त्र प्रहरी बलमा केही वर्ष यताको सबैभन्दा ठूलो संख्यामा एकै पटक बढुवासमेत हुन लागेको हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व सम्हालेदेखि नै खाली पद नराख्ने नीति लिएकै कारण पछिल्लो एक वर्षमा विभिन्न दर्जामा गरी करीव ३ हजार कर्मचारी बढुवा भएका छन् ।
यस्तै ३१ सय भन्दा बढीको पदस्थापन, २० जनाको विशेष बढुवा, करीव १० हजारको सरुवा, ४ सय ७८ जनाको समायोजन सरुवा र विभिन्न दर्जामा १ सय ११ जनाको नयाँ भर्ना भएको थापाको बताए। लामो समयदेखि बढुवा जाम रहेको अवस्थामा आज प्रकाशित सूचनाबाट कर्मचारीहरुमा रहेको निराशासमेत हटेर जाने छ ।