धनगढी: साउन १ गते आज (सोमबार) को कुरा हो, धनगढीको नेश्लल चोक नेर एक जोडीले भेट गरे। ट्याङ्करका सहचालक (खसाली) समेत रहेका युवक र ऐश्वर्य बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत एक युवती त्यहाँ भेटिएका थिए। उनीहरु प्रेमी-प्रेमिका थिए। प्रहरी स्रोतका अनुसार उनीहरु मोबाईल साट्न भेटिएका थिए।
हिजोअस्ती नै उनीहरुले आफ्नो मोबाईल अदलबदल गरेको बुझिएको छ। तर भेट गर्ने क्रममा उनीहरु ६ लेन सडकको नेश्ननल ट्रेडिङको ट्याङ्कर पार्किङ स्थलभित्र पसे।
त्यहाँ वरपर अरु मानिसहरु पनि थिए। तर उनीहरु सरासर त्यहाँतर्फ अगाडी बढे। युवती कलेज ड्रेसमै थिइन्। प्रहरी स्रोतका अनुसार लुरे-लुरे देखिने खलासीले ट्याङ्कर भएको ठाउँतिर बसेर गफ गर्न भनेर युवतीलाई फकाएर लगेका थिए।
प्रहरी स्रोत भन्छ- ‘त्यहाँ उनीहरु डेटिङ बसेका थिए। तर त्यस्तो अश्लील र अवाञ्छित क्रियाकलाप भने गरेका थिएनन्। त्यहाँ वरपर रहेका स्थानीयहरुले उनीहरुलाई देखेर हल्लाखल्ला मच्चाए। त्यसपछि त्यहाँ प्रहरी पुगेको थियो।’
त्यहाँ प्रहरी पुगेपछि उनीहरुलाई सोझै प्रहरी कार्यालय पुगाइएको थियो। पछि दुबै लभरलाई जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा राखेर खास कुरा बुझ्दा उनीहरु प्रेमी रहेको खुलेको थियो। अहिले उमेर पुगेका ती दुबैजनालाई प्रहरीले आफन्तको जिम्मा लगाइएको जनाएको छ। युवतीका बुबाले छोरीलाई बुझेर लगेको र केटाका आफन्तले पनि बुझिलिएको बताइएको छ।