कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले दुई करोड ५४ लाख ८० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्लाका विभिन्न ठाउँमा सञ्चालित सवारीसाधनलाई गरेको कारबाहीबाट आर्थिक वर्ष २०७९/८० मा सो राजश्व संकलन भएको हो ।
यो राजश्व आर्थिक वर्ष २०७८/७९ को भन्दा २१ लाखले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका जनाएको छ । अघिल्लो आर्थिक वर्षमा दुई करोड ३३ लाख ७८ हजार पाँच सय रुपैयाँ राजश्व उठेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार – एक वर्षको अवधिमा १९ हजार २४५ मोटरसाइकल , सात हजार ४५१ ट्रक, दुई हजार ५८७ बस, सात हजार ९५१ जिप, चार हजार ११८ ट्याक्टर लगायत लाई कारबाही गरिएको थियो ।
मोटरसाइकल कारबाहीबाट एक करोड नौ लाख २० हजार पाँच सय संकलन भएको छ । यस्तै ट्रकलाई कारबाही गर्दा ४३ लाख ९१ हजार, बसबाट १४ लाख ४८ हजार पाँच सय, जिपबाट ४२ लाख ३५ हजार पाँच सय, ट्याक्टरबाट २२ लाख ८५ हजार र अन्यबाट २१ लाख ९९ हजार पाँच सय गरी दुई करोड ५४ लाख ८० हजार रुपैयाँ राजश्व संकलन भएको हो ।
धेरैजसो सवारीसाधनका कागजपत्र नबोकेका, क्षमताभन्दा बढी यात्रु बोकेका, बढी मालसामान ढुवानी गरेका, लाइसेन्स नभएका र ट्राफिक नियम पालना नगरेका कारण सवारीसाधन कारबाही पर्ने गरेको ट्राफिक कार्यालयले बताए छ । यस वर्ष बढी राजश्व संकलन हुनुको प्रमुख कारण ट्राफिक प्रहरीको सक्रियता रहेको बताइएको छ ।
कम जनशक्तिका बाबजुद पनि कैलाली ट्राफिकले सुदूरपश्चिमका ८ जिल्लाको भन्दा बढी राजश्व संकलन गरेको दाबी गरेको छ । सुदूरका ९ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयले लगभग साढे पाँच करोड राजश्व उठाएका छन् । जसमा कैलाली ट्राफिकले मात्रै झण्डै त्यसको आधा दुई करोड ५४ लाख ८० राजश्व उठाएको देखिएको छ । यस्तै कैलालीमा राजश्व संकलन बढे पनि सवारी दुर्घटनामा कमी आएको छ ।