काठमाडौं – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छन्।
नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उनले गलत काम गर्नेलाई सार्वजनिक बहिष्कार गर्नुपर्ने बताएकी हुन्।
सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले राजनीतिक व्यक्तिहरू प्रदूषित हुँदा बागमती नदी पनि प्रदूषित बन्न पुगेको टिप्पणी गरिन्।
उनले भनिन्, ‘सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरू जो सुकै हुन्, सामाजिक बहिष्कार गर्नुपर्छ। नेता, सांसदले नै सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई संरक्षण गरिरहेको छन्। यस्ता कार्यलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ।’
उनले नदी किनारका अव्यवस्थित बस्तीलाई सरकारले संयुक्त आवास कार्यक्रममार्फत सम्बोधन गर्न सक्ने अवस्था भए पनि नदी किनारकै जग्गा पाउनु पर्ने उनीहरूको रटानका कारण थप समस्या सिर्जना भएको बताइन्। हाल विद्यमान कानुन र स्रोत साधनले बागमती सभ्यतालाई सफा र सुन्दर बनाउन सकिने बताउँदै मन्त्री झाँक्रीले यसमा सबैको प्रतिविद्धताको आवश्यकता रहेकोमा जोड दिइन्।