धनगढीः मिटरब्याजको मुद्दामा विचौलियाको भूमिका खेलेको आरोप लागेका कञ्चनपुरको गुलरियाका तेजबहादुर देउवालाई जिल्ला प्रशासन कार्यालय प्रवेशमा रोक लगाएको छ। कर्मचारी र प्रमुख जिल्ला अधिकारीसँग राम्रो सम्बन्ध रहेको बताउदै मिटरब्याज पीडितका मुद्दा मिलाइदिने आश्वासन दिदै विचौलियाको भूमिका खेलेका देउवालाई प्रशासन प्रवेशमा रोक लगाइएको हो।
सोही कारण मंगलबार बिहान भने उनी प्रशासन प्रवेश गरेका थिएनन् तर दिउँसो ३ बजे मिटरब्याज पीडित सहायता कक्षमा पुगेका उनलाई प्रहरीले तपाई यहाँ नआउनुस् भन्दै फर्काएको थियो। देउवाले स्थानीय प्रशासन शाखाका खरिदार माधव फुलारासँग मिलेर मिटरब्याज पीडितसँग अनुुचित बार्गेनिङ गर्दै विचौलियाको भूमिका खेल्ने गरेको आरोप लागेको थियो।
खरिदार फुलाराले पनि देउवासँग मिटरब्याज पीडित र पीडक पक्षबीच सहजीकरणको भूमिका खेलिदिन आग्रह गर्ने गरेका थिए। यो विषयमा महेन्द्रनगरपोष्टले समाचार लेखेपछि रोक लगाइएको हो।