धनगढी: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरबाट बरामद भएको सुनमा आफ्नो संलग्नता नरहेको व्यवसायी दीपक मल्होत्राले दाबी गरेका छन्। ठूलो परिणाममा राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको छ।
यही विषयमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मल्होत्राले सो सुन तस्करीमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्।
यस्तै मल्होत्राले सुन तस्करीमा संलग्न गिरोहको अनुसन्धान डाइभर्ट गर्न आफ्नो नाम मुछिएको दाबी गरे। राजश्व अनुसन्धान विभागले बरामद गरेको ८० किलो बढी सुन तस्करीमा नाम मुछिएपछि उनले पत्रकार सम्मेलनमार्फत यस्तो दाबी गरेका हुन्।
उनले यस्तो धन्दामा कहिल्यै संलग्न नभएको भन्दै यसबारे अहिलेसम्म कुनै सरकारी निकायबाट सोधपुछ नभएको बताए।
‘जसको सामान हो ती गिरोहलाई जोगाउन, अनुसन्धान डाइभर्ट गर्न झुटो कुरा लेखियो,’ उनले भने। उनले आफू सुन तस्करीमा कहिल्यै संलग्न नभए पनि आफ्नो नाम बारम्बार मुछिने गरेको तर आफूले कहिल्यै तस्करी नगरेको दाबी गरे।
२०५५/०५६ सालतिर झिटिगुन्टाको व्यापारको क्रममा विदेशबाट नेपाल आउने नेपालीले ल्याएको सुन लिने गरेको तर त्यसयता सुन कारोबारमा संलग्न नभएको उनको दाबी छ।
उनले सबै व्यापारी चोखो नहुने तर जो संलग्न छैनन् उनीहरूलाई दु:ख दिन नहुने बताए। उनले ८० किलो सुनमा पक्राउ परेका कसैलाई नचिन्ने र नभेटेको समेत दाबी गरे।
मल्होत्राले आफूले मोबाइल फोनबाहेक अन्य समान आयातै नगर्ने गरेको बताउँदै सुन तस्करीमा पटक पटक किन आफ्नो नाम जोडिन्छ बुझ्नै नसकेको बताए।
‘म सुन तस्करीमा संलग्न छैन भन्ने प्रमाण यही पत्रकार सम्मेलन हो,’ उनले भने।