सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित सप्तकोशी नदीको किनारमा भएको लफडामा संलग्न पाँचैजना युवतिहरुलाई प्रहरीले पक्राउ गरेको छ। ब्वाइफ्रेन्डको पोल खोलिदिएको र बेइज्जत गरिदिएको आरोपमा तीन युवतिहरुमाथि निर्धात कुटपिटमा संलग्न पाँचजना युवतिहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
कुटपिटमा संलग्न सुनसरीको बराहक्षेत्र नगरपालिका–१० भुजेलटोलकी १९ वर्षीया प्रिति लिम्बु, बराहक्षेत्र–८ सैनिकटोलकी १८ वर्षीया दुर्गा राई, २२ वर्षीया बिनिता उराँव, बराहक्षेत्र–९ की १९ वर्षीया सन्जिता राई र निहाङ राई पक्राउ परेको जनाइएको छ। उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ।
उनीहरुले गत शुक्रबार बराहक्षेत्र नगरपालिका–९ राजाबास टोलस्थित सप्तकोशी नदी किनारमा अर्को समूहमा रहेका तीन युवतीहरूलाई बोलाएर कुटपिट गरेका थिए।
असार २९ गते शुक्रबार साँझ करीव साढे ५ बजेतिर बराहक्षेत्र–८ की १९ वर्षीय मनीषा राई तथा १७ वर्षीया र १६ वर्षीया अर्की युवतीमाथि निर्धात कुटपिट भएको जनाइएको छ।