काठमाडौं– सेवानिबृत्त भएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई सशस्त्र प्रहरी बलले आफ्नो फौजी परम्परा अनुसार सोमबार सम्मानसहित बिदाई गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा विशेष समारोहका बीच उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फुलमालाका साथ मायाको चिनो प्रदान गर्दै बिदाई गरे ।
यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनाललाई पनि संघकी उपाध्यक्ष ज्योती केसीले फुलमालासहित बिदाई गरिन् । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई संगठनको सम्पूर्ण जिम्मेवारी सुम्पे । साथै उनले सांगठानिक विकासमा पु¥याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय केसी र रामशरण पौडेललाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरे ।
सम्बोधनको क्रममा महानिरीक्षक खनालले राज्यप्रदत्त जिम्मेवारी निर्वाहको क्रममा आफ्नो प्राणको समेत आहुती दिने संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठलगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीहरुको योगदानको स्मरण गरे । कर्तव्य पालनाको सिलसिलामा घाइते भई अंगभंग भएका राष्ट्रसेवकहरुको समेत सिघ्र स्वास्थ्य लाभको कामनासमेत उनले गरे ।
साथै उनले संगठनका पूर्वज नेतृत्व, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले पु¥याएको योगदानको स्मरण गर्दै सकल दर्जाका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आ–आफ्नो नियुक्तिका क्षेत्रहरुमा खटिई प्रदर्शन गरेको कार्यक्षमताको प्रशंसा गरे । उनले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको योगदानले सांगठानिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
उत्तरी सीमानाको हिमाली क्षेत्रको कठ्याङ्ग्रिने जाडोदेखि दक्षिणी तराईको हावाहुरी तथा प्रचण्ड गर्मी ठाउँहरुमा अहोरात्र खटिई आमनागरिकको सुरक्षा, सीमा अपराध नियन्त्रण, आपद् विपत् पीडित नागरिकको उद्वार तथा चोरीनिकासी तथा पैठारी नियन्त्रणमा खटिई प्रदर्शन गरेको कार्यको उनले प्रसंशा गरे । उनले उत्कृष्ट कार्यसम्पादन तथा कोभिड–१९ महामारी नियन्त्रण तथा संक्रमितको उपचारमा एपीएफ अस्पताल मार्फत प्रदर्शन गरेको सेवाको नेपाल सरकार तथा विभिन्न निकायबाट प्रशंसा भइरहेको उनले बताए ।
समारोहमा सम्बोधनको क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स–सम्मान विदाई हुनु भएकोमा हार्दिक बधाई दिए । समारोहमा नेपाल सरकार गृहमन्त्रालयका सहसचिव टेकबहादुर केसीलगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु र सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।