कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा सडक नबनेपछि वडाध्यक्षको फोटो टाँसेर बाटो बन्द गरिएको छ । व्यापारीहरुले सडकमा डोरीको अवरोध लगाएर त्यसमा भीमदत्त नगरपालिका-४ का वडाध्यक्ष सुशील भट्टको फोटो टाँसेका छन् ।
उनीहरुले महेन्द्रनगरको केन्द्र मदनचोकबाट राजमार्गतर्फ जाने बाटो बन्द गरेका हुन् । महेन्द्रनगर बजारको मुख्य चोकको सडक निर्माण अलपत्र पारिँदा पानी जम्ने, ढुंगा उछिट्टिएर सटरहरुमा लाग्ने भएपछि बाटो बन्द गर्नुपरेको व्यापारीहरुले बताएका छन् । सडकका ढुंगा हटाउन गरिएको अनुरोधको वडाध्यक्ष भट्टले वास्ता नै नगरेको उनीहरुले बताए ।
एसियाली विकास बैंक (एडिबी) सहयोगको सडक निर्माण आयोजनाले नगरका अन्य सडकको निर्माण लगभग गरिसके पनि मदनचोकलाई भने छोडेको छ । सडक निर्माणमा अवरोध बनेका भीमदत्त नगर विकास समितिको स्वामित्वका २२ सटर भत्काउन नगरपालिकाले आनाकानी गरेपछि एडिबीले मदनचोकलाई छोडेको हो ।