धनगढी: प्रदेश सरकारले खडा गरेको ‘भीमदत्त उत्कृष्ट पुरस्कार २०७९’ अन्तर्गतको भीमदत्त सर्वोत्कृष्ट पुरस्कारबाट कञ्चनपुर बेलौरी नगरपालिकाका असारेराम बडायक पुरस्कृत भएका छन् । उनले पुरस्कार स्वरुप एक लाख ५० हजार रुपैयाँ र प्रशंसापत्र पाएका छन् ।
कृषिमा नयाँनयाँ प्रविधि अपनाएर खेती गरिरहेका उनी अन्य किसानका लागि नमूना कृषकको रुपमा स्थापित भएका छन् । बजारमा पाउने कृषि उपकरणलाई आफैँले किसान तथा जग्गामैत्री बनाउँदै उनले लागत खर्च कम गरी उत्पादत्व वृद्धि गरिरहेका छन् । बडायकले आफ्नो उखु खेतीभित्र आलु र तोरी खेती गरिरहेका छन् ।
७५ हजार रुपैयाँ र प्रशंसापत्रसहितको भीमदत्त उत्कृष्ट पुरस्कारबाट कैलाली घोडाघोडी नगरपालिकाका पहलमान देउवा पुरस्कृत भएका छन् । उनले २२ बिघा जग्गा भाडामा लिई कुखुरा, बङ्गुर, बाख्रा, माछापालनका साथै ड्रागन खेती र घाँस खेती गरिरहेका छन् ।
७५ हजार रुपैयाँ र प्रशंसापत्रको भीमदत्त उत्कृष्ट पुरस्कारबाट नै डडेलधुरा अमरगढी नगरपालिकाका प्रिन्सराज अवस्थी, गन्यापधुरा गाउँपालिकाका प्रसाददत्त अवस्थी र बैतडी पाटन नगरपालिकाका जयन्ती भाट (बिजले) पनि पुरस्कृत भएका छन् । अमरगढीका कृषक अवस्थीले डडेलधुरा र बझाङमा गरी झण्डै एक सय २० रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् । उनको तरकारी खेतीबाट प्रत्यक्षरुपमा दश जनाले र अप्रत्यक्षरुपमा धेरै व्यक्तिले रोजगारी पाएका छन् ।
गन्यापधुराका प्रसाददत्त अवस्थीले गाउँपालिकाका विभिन्न ठाउँमा गरी झण्डै दुईसय रोपनीमा तरकारी खेती गरिरहेका छन् । पाटन नगरपालिकाकी जयन्ती भाट (बिजले) ले करिब ४० रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् । प्रदेश सरकारले कृषकको हौसला बढाउँदै कृषि उपजको व्यावसायिक उत्पादन गराउनका लागि किसान नेता स्व भीमदत्त पन्तको नामबाट दुई वर्षअघि यो पुरस्कार खडा गरेको थियो । रासस