काठमाडौँ: सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेश गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो ।
अधिवक्ता गिरीले राष्ट्रपति पौडेलको उपचार खर्च बेहोर्ने सरकारको निर्णय बदरको माग गर्दै २४ असारमा सर्वोच्च अदालतमा रिट पेश गरेका थिए । तर १३ दिनपछि रजिष्ट्रार निर्मला पौडेलले राष्ट्रपति पौडेलको उपचार खर्च बेहोर्ने निर्णय सरकारको नितान्त नीतिगत विषय र कार्यपालिकाको क्षेत्राधिकारको विषय भएकाले कसलाई उपचार खर्च दिने नदिने भनी न्यायालयबाट निर्क्योल हुने विषय नभएको दाबी गर्दै निवेदन दरपिठ गरेकी थिइन् ।
रजिष्ट्रार पौडेलको आदेश खारेजीको माग गर्दै अधिवक्ता गिरीले इजलास समक्ष निवेदन दिएका थिए । बिहीबार न्यायाधीश फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो ।