डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाले आफ्नै पालिका गान र लोगो तयार गर्ने भएको छ । अजयमेरुको पहिचान झल्किने गरी गाउँपालिकाले पालिका गान र लोगो तयार पार्न लागेको हो ।
गाउँपालिकाले लोगो तथा गानको रचना गर्न चाहने इच्छुक नेपाली नागरिकसँग आवेदन आह्वान गरेको छ । आगामी भदौ ११ गतेभित्र गाउँपालिकाको कार्यालयमा रचना पठाइसक्नुपर्ने जारी सूचना उल्लेख छ ।
गाउँपालिकाको सामाजिक, आर्थिक, भौगोलिक, धार्मिक, ऐतिहासिक, भाषिक, सांस्कृतिक तथा पर्यटकीय मौलिक विशिष्टता झल्किने गरी पालिका गान तथा लोगो तयार गर्नुपर्ने जनाइएको छ ।
त्यस्तै, पालिका गान घटीमा ५० शब्द र बढीमा ६० शब्दको हुनुपर्छ । पालिकाको लोगो नेपालको राष्ट्रिय लोगोकै आकारमा हुनुपर्ने गाउँपालिकाको भनाइ छ ।
मूल्यांकन समितिबाट पालिकाको गान र लोगो छनौट गर्ने उल्लेख गर्दै सूचनामा भनिएको छ, ‘रचनाकारले पालिका गान र लोगोमध्ये कुनै एक वा दुवै विधामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।’