बझाङः बझाङमा बनाउँदै गरेको नयाँ घर गाउँलेहरूले भत्काइ दिएका छन्।
बझाङको बित्थडचिर गाउँपालिकामा करण ओखेडाले बनाइरहेको घर सार्वजनिक जग्गामा परेको भन्दै गाउँलेले भत्काएका हुन्।
ओखेडाले भने, ‘सार्वजनिक जमिन हो, तेरो होइन भनेर घर पनि भत्काए, बाली, मकै काटेर आफ्ना गाईभैंसीलाई लिएर गएछन् यिनीहरूले,’ ‘हामी जाँदा खेरी मलाई दलित तँ के गर्न सक्छस् भने।’ त्यसपछि उनले आफ्नो बन्दै गरेको घर भत्काउँदै गरेको दृष्य लुकेर मोबाइलबाट भिडिओ बनाएको बताए।
भारतको दिल्लीमा रोजगारी गर्ने ओखेडाको वडा नम्बर–७ मा जमिन छ। उनका बुवाले २०५७ सालमै सो जमिन किनेको बताए। आफ्नो जमिनमा घर बनाउँदा ३०/४० जना गाउँले आएर भत्काएको उनको भनाइ छ।
ओखेडाको घरसँगै अरू जमिन पनि छ। ६ नम्बर वडामा पनि उनको घर छ। अहिले सो विषय जिल्ला प्रहरी कार्यालयमा पुगेको छ। उनका बुवा र भाइ जिल्ला प्रहरी कार्यालय पुगेका थिए। यो विषय तीन महिना अघि गाउँपालिकाको कार्यालयमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ओखेडाले आफ्नो घर भत्काइदिएको भन्दै उजुरी दिएका छन्। प्रहरीले प्रारम्भिक रूपमा बुझ्ने काम गरिरहेको बताएको छ।