मलेखु: मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन् । धादिङको धुनिवेशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै छोरीसँग एउटै कोठामा बस्दै आएका थिए ।
त्यसैक्रममा १७ वर्षीय छोरीमाथि पटकपटक जबरजस्ती करणी भएको पीडित नाबालिकाको जाहेरी उल्लेख भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी बताए । पटकपटक जबर्जस्ती करणीबाट अहिले नाबालिकाको गर्भमा पाँच महिनाको गर्भ रहेको खुल्न आएको छ । धादिङको इँट्टा उद्योगमा काम गर्दै आए पनि उनीहरू दाङमा पुगेर मात्रै घटना बाहिरिएको हो ।
पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकीछिपी बसिरहेको फेला पारी प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । घटना धादिङ जिल्लामा भएकाले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसुरमा धादिङ अदालतले हिजो शुक्रवार तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए । रासस