योगेन्द्र रावल, डडेल्धुरा: आज(मंगलबार) सुदूरपश्चिम प्रदेश सभाकी सदस्य सरस्वती खड्काले हातमा कुचो थियो। उनी डडेल्धुरा सदरमुकामस्थित अस्पताल रोडमा कुचोले बढार्दै थिइन्। केही बेरअघि डडेल्धुरा अस्पतालको अनुगमन गरेर फर्केकी उनी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई गर्ने कार्यक्रममा सरिक भएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय र डडेल्धुरा अस्पतालको सहकार्यमा उक्त सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो। प्रहरी, सशस्त्र प्रहरी, अस्पतालका कर्मचारी तथा आम नागरिकको सहभागितामा तुफानडाँडाबाट अस्पताल परिसर सम्म सरसफाई गरिएको डडेल्धुरा अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझाले बताए।
उक्त कार्यक्रममा सांसद सरस्वती खड्का, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर प्रशाद भट्ट, सशस्त्र प्रहरी बलका डिएसपी बिरेन्द्र पाल, जिल्ला प्रशासनका प्रशासकीय अधिकृत जिरेन्द्र ओझा, अस्पतालका अध्यक्ष करुणाकर ओझा लगायत सहभागी थिए। सोही टोलीले अस्पतालको व्यवस्थापनको सम्बन्धमा अनुगमनसमेत गरेको थियो।