डडेल्धुरा: डडेल्धुरामा किर्ते हस्ताक्षर गरी विपद् व्यवस्थापनको रकम हिनामिना गरेको पाइएको छ। जिल्लाको अमरगढी नगरपालिका–४ को कार्यालयले विपद् व्यवस्थापनका सामग्री वितरण गरेको भरपाईमा किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको खुलेको हो।
स्थानीयको नक्कली हस्ताक्षर गरेर वडाध्यक्ष र वडा सचिवले रकम हिनामिना गरेको आरोप लागेको हो। उनीहरुले वडा कार्यालयले गत आर्थिक वर्ष २०७९/०८० मा विपद् व्यवस्थापन सामग्रीहरु वितरण गरेको नक्कली हस्ताक्षर गरी भरपाई तयार गरेका छन्।
भरपाईमा उनीहरुले ३६ जनाभन्दा बढी स्थानीयको नाम राखेत किर्ते हस्ताक्षर गरेका छन्। स्थानीयलाई त्रिपाल, टिन र ग्याबिन जाली वितरण गरेको देखाइएको छ। नक्कली तयार गरिएको भरपाईमा १ थान त्रिपालको तीन हजार ८८८ रुपैयाँ, १ थान टिनको ७३८ रुपैयाँ र ग्याविन ३२०७ रुपैयाँ दर राखिएको छ।
यसरी किर्ते हस्ताक्षर गरी झण्डै दुई लाख १३ हजार १७९ रुपैयाँ बराबर हिनामिना गरेको देखिएको छ। वडा कार्यालयबाट विपद् व्यवस्थापनको शिर्षकमा ६५ हजार २४९ रकम विनियोजन गरिएको भएपनि विभिन्न शिर्षकबाट रकमान्तर गरी अनियमितता गरेको खुलेको छ।
भरपाईमा हस्ताक्षर गरेका स्थानीयले सामग्री र नगद नपाएको गुनासो गरेका छन्। स्थानीय तारा रावतले भरपाईमा आफ्नो नाम देखेपछि अचम्ममा परेको बताइन्। आफुले हालसम्म वडा कार्यालयबाट कुनै सामग्री नपाएको, रकम नबुझेको र हस्ताक्षर पनि आफ्नो नभएको उनको दाबी छ।
यता वडा कार्यालयले तयार गरेको भरपाईमा भने उनको नाममा १ थान त्रिपाल वितरण गरिएको उल्लेख गरिएको छ। भने, ३ हजार ८८८ रुपैयाँ बुझिलिएको किर्ते हस्ताक्षर गरिएको छ।
यस्तै अर्का स्थानीय हिक्मत रावलको नाममा त्रिपाल १ थान टिन ६ थान वितरण गरिएको र ६ हजार ५८८ रुपैयाँ बुझिलिएको किर्ते हस्ताक्षर गरिएको छ। उनले पनि वडा कार्यालयबाट कुनैपनि सामग्री वा नगद केही पनि नपाएको र हस्ताक्षर पनि आफ्नो नभएको बताएका छन्।
यस विषयमा सोही वडाका वडा सचिव केशवराज ओझाले आफुलाई जानकारी नभएको र गत वर्ष बाढीपहिरो आएको बेला वितरण गरेको हुनसक्ने बताए। यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले गुनासो आएको र भोलि छानबिन हुने बताए।