धनगढी: धनगढीको बसपार्क क्षेत्रमा असुली धन्दा मौलाएको पाइएको छ। शान्ति सुरक्षाका लागि खटिएको प्रहरीबाटै यस्तो अस्वभाविक काम भैरहेको पाइएको हो।
स्रोतका अनुसार बसपार्कका होटेल, दोहोरी साझ तथा रेस्टुरेन्ट र पहाड जाने बसहरुबाट रकम असुली भैरहेको छ। अस्थायी प्रहरी पोष्ट बसपार्कमा कार्यरत हालै सरुवा भएका प्रहरी सहायक हवल्दार शंकर बोगटी र प्रहरी जवान पदम साउँद असुली गर्ने गरेको स्रोतको दाबी छ।
उनीहरुले बसपार्कका होटलहरुबाट मासिक १ हजारदेखि ५ हजारका दरले र पहाडी जिल्ला बाजुरा बझाङ र अछाम जाने गाडीहरुबाट सामान हालेबाफत इन्ट्री गरेको भन्दै सय रुपैयाँका दरले रकम असुल्ने गरेको व्यवसायीहरुको गुनासो छ। यस्तो गतिविधि गर्ने सहायक हवल्दार बोगटी केही दिनअघि मात्रै कनरी सरुवा भएका छन् भने साउद बसपार्कमै छन्।
स्रोतका अनुसार साउँद ४ पटक बसपार्क बसिसकेका छन्। उनीहरूले पैसा असुलेर बसपार्कको अवैध गतिविधि ढाकछोप समेत गर्ने गरेको बताइन्छ। उनले जिल्लाका हाकिमहरुलाई बुझाउनुपर्छ भन्दै पैँसा लिने गरेको दाबी गरिएको छ। तर निज प्रहरीहरुले भने यो कुरा झुटो भएको बताएका छन्।