काठमाडौं : अधिवक्ता भगवती पाण्डे (शीतल) पक्राउ परेकी छिन् । हाडनाता विवाहबारे उनको अभिव्यक्ति विवाद परेपछि आज पक्राउ परेकी हुन् ।
केही समयअघि सञ्चारमाध्यमलाई दिएको विवादास्पद अभिव्यक्तिका कारण निकै विरोध खेपिरहेकी उनलाई पक्राउ गरेर बयान अघि बढाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ्ग र मगर समुदायका विभिन्न संघसंस्थाले दिएको उजुरीको आधारमा परिसरले उनलाई पक्राउ गरेको हो ।
पाण्डेविरुद्ध गत साउन १२ गते पक्राउ पूर्जी जारी भएको थियो । उनलाई जातीय भेदभावसहित दुईवटा कसूरमा कारबाही गर्न माग गरिएको छ ।
एक टेलिभिजन अन्तरवार्तामा उनले तामाङ्ग समुदायमा हाडनाताभित्र विवाह हुने गरेको र त्यस्ता आमाबाबुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् । उनको उक्त अभिव्यक्तिको संसदमा समेत विरोध भएको थियो ।
उनलाई पक्राउ गर्नुपर्ने माग राख्दै नेपाल तामाङ्ग संघ र नेपाल मगर संघले आज पनि आन्दोलन गरेका थिए ।