बैतडी: बैतडीमा गँड्यौला मल विक्री गर्न थालिएको छ । सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रले गँड्यौला मल उत्पादन केन्द्र स्थापना गरेर मल उत्पादन गरेको थियो । अहिले मल विक्री कार्य सुरु गरिसकेको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टले बताए ।
धनगढीबाट गँड्यौला ल्याएर मल उत्पादन गरिएको बताइएको छ । झण्डै १५ क्विन्टल गँड्यौला मल उत्पादन भएको र जिल्ला दररेट अनुसार प्रतिकिलो ४० रुपैयाँका दरले विक्री गर्न थालिएको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए ।
बैतडीमा सुख्खा फलफूल विकास केन्द्रले पहिलो पटक गँड्यौला मत उत्पादन गरेको हो । सुख्खा फलफूल विकास केन्द्रले बैतडीका विभिन्न ठाउँका किसानलाई गँड्यौला मल उत्पादन गर्ने तरिका पनि सिकाइरहेको जनाएको छ ।
अन्य मलको तुलनामा जैविक मल निकै मलिलो र लाभदायक हुने गरेको कृषि प्राविधिकहरु बताउँछन् । गँड्यौला मलमा बोटविरुवाका लागि पाइने पोषक तत्व बढी हुने भएकाले यो मल निकै लाभदायक रहेको बताइन्छ ।