काठमाडौँः नेपाल प्रहरीकी नायब उपरीक्षक (डिएसपी) दिप्ती कार्की अमेरिकामा भएको १० हप्ते तालिममा भाग लिएर फर्केकी छिन् ।
सुदूरपश्चिम प्रदेशको कैलाली घर भएकी उनी अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई)को नेसनल एकाडेमीका लागि छनोट भएकी थिइन् । उनी नेपालबाट छनोट हुने पहिलो महिला प्रहरी अधिकारी पनि हुन् ।
अमेरिकाको भर्जिनियामा एफबीआई प्रशिक्षण कार्यक्रममा सहभागी भएपश्चात उनले उक्त तालिम सफलतापूर्वक सम्पन्न भएको बताएकी छिन् । उनले एफबीआई कोर्स निकै गहन रहेको र यसलाई विज्ञहरुले एकदमै राम्रोसँग कार्यान्वयन गरेको पाएको बताइन् । उनले शैक्षिक, सामाजिक र भौतिक तीनै हिसाबले धेरै सिक्ने अवसर पाएको बताएकी छिन् ।
नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले कार्कीलाई शुभकामना तथा बधाइ दिँदै बृहत्तर शान्ति र सुरक्षाका लागि अमेरिका र नेपालबीचको साझेदारीमा आफ्नो सहकार्यलाई निरन्तरता दिन उत्सुक रहेको बताए ।