बझाङ: बझाङको बुङ्गल नगरपालिकाका सूचना शाखा प्रमुख (आईटी अफिसर) रमेश कार्कीले स्थानीय रामचन्द्र जोशीमाथि कुटपिट गरेका छन् । उनले आफूविरूद्ध सामाजिक सञ्जाल फेसबुकमा भिडिओ राखेको भन्दै जोशीमाथि कुटपिट गरेका हुन् ।
स्थानीय जोशीमाथि कुटपिट गरेको भिडिओ पनि सार्वजनिक भएको छ । जोशीले बुधवार बुंगल नगरपालिकाको कार्यालयमा कार्यालय समयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भएको भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेपछि आफूमाथि हातपात भएको बताए ।
उनले हिजो १८ गते कार्कीले गालीगलौज गर्दै बीच बजारमा चरित्र हत्या गर्नेगरी कुटपिट गरेको बताए । आइटी अफिसरलाई कारबाही गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको उनले बताए ।
हातपात गर्ने सूचना अधिकृत कार्कीले भने घटना हुनुको मुख्य कारण जोशीले आफूमाथि शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाउनु रहेको बताए । सोही विषयमा विवाद हुँदा हातपात भएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले घटनाका विषयमा बुझ्ने काम भइरहेको बताएका छन् ।