बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले फोहर व्यवस्थापन तथा सरसफाइ अभियान सुरु गरेको छ ।
शुक्रबार सुर्नया गाउँपालिकाको वडा नं ४को सनशेरीमाण्डौंदेखि वडा नं ६ को रीगासम्म सडक छेउछाउमा सरसफाइ गरिएको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।
गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर, गाउँपालिका प्रवक्ता एवं वडा नं ४ का अध्यक्ष प्रतापसिंह महरा, वडा नं ५ का अध्यक्ष केशव बिष्ट, वडा नं ६ का अध्यक्ष मदनराज अवस्थी, प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी लगायत पालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीयहरुको समेत सहभागितामा फोहर व्यवस्थापन तथा सरसफाइ अभियान सञ्चालन गरिएको हो ।
पालिका क्षेत्रभित्रका सार्वजनिक स्थलहरुलाई सरसफाईयुक्त बनाउनका लागि अभियान शुरु भएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । यो अभियान हरेक महिनाको अन्तिम शुक्रबार पालिकाका सबै सार्वजनिक स्थान,वडा कार्यालय, शिक्षण संस्था, सरकारी तथा गैर सरकारी निकायमा सञ्चालन हुने उनले बताए ।
पालिका क्षेत्र भित्रको फोहर व्यवस्थापन र सरसफाइको काम पालिकाको दायित्वभित्र पर्ने भएकाले गाउँपालिकाले सबै वडा कार्यालय तथा अन्य सरोकारवालाहरुलाई पत्र पठाएर फोहर व्यवस्थापन तथा सरसफाइ अभियान सञ्चालन गर्न आग्रह समेत गरेको छ ।