कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वाणीस्थित बन्द नदीको बगरमा बिहीवार (१८ गते) गाडिएको अवस्थामा एक पुरुषको शव फेला पर्यो । सो शवबारे सोधपुछ गर्दा कृष्णपुर-२ वाणीकै नवदुर्गा टोलका ३५ वर्षीय कुबेर दमाई (हले) को भएको पाइयो ।
मृतक दमाई १५ गतेदेखि बेपत्ता थिए । उनको परिवारमा खबर गर्दा उनकी दिदी नाता पर्ने सत्या दमाईले उनी कुबेर नै भएको बताइन् । कुबेर घरबाट बेपत्ता रहे पनि प्रहरीलाई भने खबर गरिएको थिएन । उनी घरबाट गएर १/२ दिनपछि फर्किने गर्ने भएकाले तत्काल खोजतलासका लागि प्रहरीमा जानकारी नगराएको उनकी आमा प्रेमजला दमाईले प्रहरीलाई बताइन् ।
शुक्रवार (१९ गते) ईलाका प्रहरी कार्यालय झलारीले वाणीकै मृतकको सहोदर भतिज नाता पर्ने २२ वर्षीय अजय दमाई र सोही ठाउँका भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाईलाई नियन्त्रणमा लियो ।
प्रहरीका अनुसार कुबेरले घरका सामान बेची मादक पदार्थ सेवन गरी आमा बुवालाई दुःख हैरानी दिने भएकाले १५ गते राति अजय र हरिश सोही विषयलाई लिई घरायसी कुराकानी लगायत मादक पदार्थ सेवन गर्न नदी बगर गएका थिए । सोही क्रममा मादक पदार्थ सेवन गरी घरायसी कुरा गर्दै कुबेरलाई सम्झाई बुझाई गर्ने क्रममा उनीहरुबीच विवाद भएको थियो ।
विवादकै क्रममा मृतक कुबेरलाई अजय र हरिशले हात, लात र बगरमा रहेका ढुंगाले टाउको, अनुहार समेतका शरीरका भागहरुमा हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भयो । मृत्युपश्चात अजय र हरिशले उनको शव सोही स्थानमा खाडल खनी पुरिदिए ।
प्रारम्भिक सोधपुछ अनुसार घटनास्थल बगरबाट ५० मिटर पूर्व कालो रङ्गको मृतक कुवेर दमाईको चप्पल र रातो, सेतो र कालो रङ्गको चेक सर्ट फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनामा संलग्न अजय र हरिशलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।