धनगढी: डोटीका समाजवादी नेता प्रेमबहादुर आलेमगरले फेरि एमालेसँग निकटता बढाउन खोजेको पाइएको छ।
पूर्व वन र पर्यटनमन्त्री समेत भैसकेका आलेलाई वनमन्त्रीबाट एकाएक ओलीले हटाएपछि उनी माधव नेपालतिर हानिएका थिए। त्यसपछि एमाले फुट्दा उनी माधव नेपालले बनाएको एकीकृत समाजवादी पार्टीतिरै ढल्किए। त्यही कारण उनलाई शेरबहादुर देउवाको मन्त्रिमण्डलमा पर्यटनमन्त्री बनाइयो। त्यसपछिको संसदीय चुनावमा माधवको अथक प्रयासले आले कांग्रेसको गढ डोटीमा उम्मेदवार बने र प्रतिनिधिसभा सदस्यमा जिते। तिनै आले पछिल्लोपटक माधव नेपालबाट पार्टी नचल्ने भन्दै आफू निकटकालाई एमालेतिर पठाउन खोजिरहेका छन्। स्रोतका अनुसार उनले म जाँदा पद जान्छ, तिमीहरू गएर मेरालागि एमालेमा माहोल बनाइराख भन्ने गरेको बताइन्छ।
यस क्रममा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घ बोगटीलाई सुवास नेम्वाङदेखि शंकर पोखरेलसम्म भेटाउने मेलोमेसो मिलाइयो। बोगटीले शंकरसँगको आफ्नो फोटो पनि सार्वजनिक गरे। महेश बस्नेतले त समाजवादीको सिंगो जिल्ला कमिटी एमालेतिर भनी फेसबुकमै लेखे। अहिले उनले सो स्टाटस डिलिट गरेका छन्।
बोगटी प्रवेश गर्ने दिन र समय तय भइसकेको थियो तर समाजवादीका नेता पूर्णा जोशी र यज्ञराज जोशीको सक्रियताले उनी रोकिएको भन्ने बुझिएको छ। उनलाई रोक्न समाजवादीका नेता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य दीर्घ सोडारी काठमाडौँ नै पुगेका थिए। बोगटी र सोडारीले एकअर्कालाई मीतसमेत भन्ने गर्छन्। सोडारी र जोशीद्वयको कसरतपछि बोगटी समाजवादीमै अड्किएका हुन्। त्यसअघी डोटी एमालेका चक्र मल्ल प्रदेश सभा सदस्य भएकाले स्वतः अध्यक्षबाट हट्ने र बोगटीलाई अध्यक्ष बनाउने आन्तरिक तयारीसहित बोगटी एमाले छिर्ने सोचमा थिए।