धनगढी: सुदूरपश्चिम प्रदेश सभाका पूर्व सभामुख अर्जुनबहादुर थापाले तत्कालीन अवस्थामा प्रदेश सभालाई सफल पार्न काँग्रेसलाई खुसी पारेको बताए। आज (आइतबार) धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश सभाका वर्तमान तथा निवर्तमान माननीय सदस्यहरुबीच अनुभव आदानप्रदान मन्चमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले काँग्रेसलाई खुसी बनाएर प्रदेश सभा चलाउदा सहज भएको दाबी गरे। यस्तै आफ्नो कार्यकालमा प्रदेश सभालाई सफल बनाउन काँग्रेसको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए।
उनले भने, ‘मैले आफ्नो पार्टी भन्दा पनि काँग्रेसलाई खुसी पारेको थिए।त्यसका कारण मेरोविरुद्ध पार्टीमा (एमाले) उजुरी पनि परेको थियो,’ उनले थपे, -‘त्यसबेला सभामुख काँग्रेसको भनेको मान्ने भयो भनेर एमालेका माननीयले उजुरी दिए। पछि मलाई बोलाएर शीर्ष नेताहरूले किन यस्तो गरेको भनेर सोधेका थिए। मैले प्रदेश सभा चलाउने कुरामा हस्तक्षेप नगर्न आग्रह गरेको थिए।’