धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले नियुक्त गरेका प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानका कार्यकारी निर्देशकको योग्यतामाथि नै प्रश्न उठेको छ ।
गत जेठ ४ गते प्रदेशको मन्त्रीपरिषदको निर्णयबाट प्रतिस्ठानको कार्यकारी निर्देशकमा डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ का गेहेन्द्र बमलाई नियुक्त गरेको थियो । जेठ ११ गतेबाट नियुक्त भएका बमको योग्यतामाथि प्रश्न उठाउँदै सो नाम सिफारिस नै त्रुटिपूर्ण रहेको भनी सर्वोच्च अदालतमा मुद्दा परेपछि उनलाई हाजिर लाउन रोक लगाइएको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानको कार्यकारी निर्देशकका लागि आवेदन दिएकामध्ये बमको योग्यतामाथि प्रश्न उठाउँदै एक जनाले दिएको निवेदनको सुनुवाई गर्दै साउन ८ गते सर्वोच्च अदालतले बमलाई हाजिर नगर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतले कार्यकारी निर्देशक बमको योग्यता र अनुभव सम्बन्धी गम्भिर प्रश्न उठेकाले दुवै पक्षसँग छलफल गरी टुंगो लगाउन उपयुक्त हुने हुँदा साउन २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । योग्यता, अनुभव, एवं नियुक्तिसँग सम्बन्धित कागज तथा निर्णयको प्रतिलिपी सहित उपस्थित हुन सर्वोच्चले आदेश दिएको छ ।
यससँगै बमलाई प्रतिस्ठानको कार्यकारी निर्देशक बनाउने निर्णय कार्यान्वयन नगराउनु भनी आएको निवेदन अनुसार सर्वोच्चले विपक्षी सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानका नाममा अल्पकालिन आदेश जारी गरेको छ ।
यता, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सूचना अधिकारी जगदिश जोशीले आवेदकहरुबाटै एक जनाले सर्वोच्चमा मुद्दा हालेपछि सर्वोच्चले तत्काल नियुक्ति गरेको निर्णय कार्यान्वयन नगराउन आदेश दिएको बताए ।