धनगढी: सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले आयोगबाट इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको जनाएको छ। आयोगको नाममा नक्कली सूचना जारी भएर परीक्षासमेत सञ्चालन भएको समाचार सञ्चार माध्यममा आएपछि आयोगले इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको स्पष्ट पारेको हो।
आयोगका प्रवक्ता हिरालाल चौधरीले अहिलेसम्म आयोगले इन्जिनियर पदको परीक्षा सञ्चालन नगरेको बताए। “आयोगले अहिलेसम्म इञ्जिनियर पदको परीक्षा सञ्चालन गरेको छैन”, उनले भने,“कर्णाली प्रदेशको विज्ञापन तानेर त्यसमा सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाम जोडी भ्रम फैलाइएको छ।”
बाँकेस्थित खजुरा गाउँपालिका–२ का मनिष शर्माले सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाममा जारी नक्कली सूचनाको आधारमा परीक्षा दिएर ठगीमा परेको समाचार प्रकाशित भएको थियो। उनले गोदावरी नगरपालिकाको अत्तरियास्थित जेके सेकेण्डरी स्कुल पुगेर साउन ७ गते इन्जिनियरको लिखत परीक्षा दिएको दाबी गरेका थिए। साथै, परीक्षामा करिब एक हजार परीक्षार्थी सहभागी भएको समेत बताइएको थियो।