बझाङ: बझाङको थलारा गाउँपालिका–३ कुचकी आमा जलादेवी दमाईंभन्दा छोरा बिर्खु दमाईंको उमेर दुई वर्ष मात्रै कम भएको पाइएको छ। तर, नागरिकतामा हो है !
नागरिकतामा आमा जलाको जन्म २०३८ साल माघ ३ गते लेखिएको छ भने छोराको २०४० जेठ ३ गते लेखिएको नागरिकता भेटिएको हो। जलाले अहिले आफू ६६ वर्ष पुगेको बताइन्।
अहिले ४२ वर्ष मात्र भएको नागरिकताका कारण वृद्धभत्ता समेत नपाएपछि मात्र नागरिकतामा छोराभन्दा दुई वर्ष जेठी भएको थाहा पाइएको उनले बताइन्। उनको नागरिकता २०६३ सालमा गाउँमा गएको घुम्तीटोलीले बनाइदिएको थियो।
२०६३ साल चैत २४ गते गएको टोलीले आमा र २०५९ साल चैत ११ गते छोराको नागरिकता बनाइएको थियो। टोली प्रमुख विजयराज बडुले आमाको र हीरालाल चौधरीले दिएको नागरिकतामा उक्त त्रुटि भेटिएको हो।
उक्त विषयमा सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले मिल्ने सम्भावना रहेपछि उक्त त्रुटि मिलाइने बताइन्।