डडेल्धुरा: आफ्नो घरजाने सडक छेउमै अमरगढी नगरपालिकाले फोहोर फाल्ने गरेको भन्दै वडा नम्बर १ मालम गाउँवासीले बिरोध गरेका छन्। हिजो ज्ञापनपत्रमार्फत नगरपालिकाको ध्यानाकर्षण गराएता पनि नगरप्रमुख डिल्लीराज जोशीले कुनै चासो नदेखाएको भन्दै आज(सोमबार) उनीहरु सडकमै आएर बिरोध गरेका हुन्।
‘डिल्ली तेरो पाराले दु:ख पायो साराले, गफाडी मेयर चाहिदैन’ लगायतका नारा लगाउँदै स्थानीयले बसपार्कबाट जुलुस निकालेका छन्। उनीहरुले नाराबाजी गर्दै नगरपालिका घेराउसमेत गरेका छन्। शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका बेला नगरप्रमुख नजिकका एकजनाले हस्तक्षेप गरेको भन्दै स्थानीय झनै आक्रोशित बनेका छन्।
अहिले नगरपालिकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। तर, नगर प्रमुख डिल्लीराज जोशीले अहिलेसम्म वार्ता गर्ने प्रयास गरेका छैनन्। यद्यपि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले भने प्रदर्शनकारीसँग कुरा गर्ने प्रयास गरिरहेका छन्
फोहोर व्यवस्थापनमा विगतदेखि नै चुक्दै आएको अमरगढी नगरपालिकाले अहिले पिकनिक स्पोट नजिकै डम्पिङ साइट बनाएको छ। सदरमुकाम नजिकै रहेको मालम दोबाटाको सडक छेउमै फोहोर थुपार्न लागेको १ वर्ष पुग्न थालेको छ।
गत पुसदेखि उक्त क्षेत्रमा सदरमुकामको फोहोर थुपारेको नगरपालिकाले सुरुमा केहि महिनामै अर्को डम्पिङ साइट बनाउने भनेको थियो। तर, हालसम्म पनि जग्गा नपाइएको कारण देखाउदै नगरपालिकाले उक्त क्षेत्रलाई दूषित बनाइरहेको छ। जसका कारण सो क्षेत्रमा मनोरञ्जन लिन पिकनिक खान जानेलाई असर परिरहेको छ। त्यतिमात्रै हैन, सोही सडक भएर वडा नम्बर १ बस्ने मालमवासीले पनि नाक थुनेर हिंड्नुपर्ने बाध्यता आइलागेको छ।
सोही समस्या सतहमा आउँदा मालम गाउँवासी विरोधमा उत्रिएका छन्। सहनशिलताको सीमा नाघेपछि २१२ स्थानीयको हस्ताक्षरसहित हिजो (आइतबार) नगरपालिकालाई ज्ञापनपत्र बुझाइएको थियो। स्थानीयले ७ दिने अल्टिमेटमसहित संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका थिए।