डडेल्धुरा : सुदूरपश्चिमको एकमात्र संघीय अस्पतालको रुपमा रहेको डडेल्धुरा अस्पतालले करार सेवामा १४ जना चिकित्सक भर्ना गर्न आवेदन खोलेको छ ।
१२ जना नवौं तहका विशेषज्ञ र २ जना मेडिकल अधिकृतका लागि आवेदन खोलिएको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य मन्त्रालयबाट स्विकृत दरबन्दी रिक्त रहेको र अस्पताल विकास समितिको साउन २२ गतेको निर्णयअनुसार करार सेवामा चिकित्सक भर्ना गर्न आवेदन खोलिएको जनाइएको छ ।
इच्छुकलाई २१ दिनभित्र आवेदन दिन आग्रह गरिएको छ भने छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने छ । ०७५ सालमै विशिष्ट विशेषज्ञ अस्पताल भए पनि अहिलेसम्म स्विकृत दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै छ । उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्विकृत भएको थियो ।
तर ४६ जनाको दरबन्दी रिक्त छ । स्विकृत दरबन्दीअनुसार एक जना ११औं तहको मेडिकल सुपरिटेन्डेण्ड, ९औं र १०औं तहका थप १९ जना कन्सल्टेण्ड चिकित्सक हुनुपर्ने हो । अस्पतालले आइतबार मात्रै ९औं तहका बालरोग विशेषज्ञ डाक्टर डा.सन्तोष गुप्तालाई मेसुको रुपमा पाएको छ ।