धनगढी : जनशक्ति अभावका कारण सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ ।
साधारण तर्फ १ सय ६ जनाको दरबन्दी रहेकोमा ५१ जना स्थायी र १५ करारमा जम्मा ६६ मात्र कार्यरत छन भने ४० जनाको दरबन्दी रिक्त छ । यस्तै अस्पताल बिकास समितिको ८६ जम्मा दरबन्दी मध्ये २९ स्थायी र २० जना करारका कर्मचारी गरी ४९ जना अस्पतालमा कार्यरत छन भने दरवन्दी भएर पनि ३७ जना कर्मचारीको अभाव छ ।
काजमा कार्यरत ६ जनालाई पनि सङ्घीय सरकारले फिर्ता बोलाउने निर्णय गरे सँगै सेतीमा सञ्चालित दैनिक सेवामा प्रभाव परको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले बताए । उनका अनुसार कार्यक्रम करार तर्फ १ सय ६१,स्कलरसिपमा १५ ज्यालादारीका ३४ लगायत अन्य गरी जम्मा ३ सय ३३ कर्मचारी अस्पतालमा कार्यरत छन् ।
मन्त्रालयले कर्मचारी काज फिर्ता गर्ने निर्णय गरे सँगै अस्पतालमा विशेषज्ञ चिकित्सक २ जनाले रमाना लिई गेटा मेडिकल कलेज गइसकेका छन भने अन्य पनि प्रक्रियामा छन् ।
अस्पतालको नियमित सेवामा कठिनाइ र त्यसमाथि बिरामीले सास्ती पाइरहेको गुनासो बढेको बेला काज फिर्ता हुँदा थप समस्या हुने अस्पताल व्यवस्थापन समिति अध्यक्ष निर्मल शाहले बताए । ‘यहाँ काजमा रहेका विशेषज्ञ चिकित्सकलाई गेटा अस्पतालमा पठाउने सरकारको आशय देखिन्छ । विशेषज्ञ ७ जना र ५ जना सिनियर स्वास्थ्यकर्मीको काज फिर्ता हुँदा हामीलाई निकै समस्या पर्छ ।गेटा अस्पताल पनि चलोस् र चलिरहेको सेती प्रादेशिक अस्पताल पनि बन्द नहोस् भन्ने हाम्रो माग हो। यसको समाधानका लागी पहल गर्दै छौँ,’अध्यक्ष शाहले भने ।
४० वर्ष देखी ५० शय्याको मात्र स्वीकृत दरबन्दी रहेकोमा हाल सम्म थप दरबन्दी सिर्जना भएको छैन । अस्पताल विकास समितिले थप ७५ शय्याबाट सेवा प्रभाव गरिरहेको छ । उता स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कि स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने विषयमा विवादकै बावजुत गेटा अस्पताल सञ्चालन अगाडि बढाउनका लागि ४७ जना नर्ससहित १ सय ४० जनाको दरबन्दी संरचना स्वीकृत भइसकेको छ । दरबन्दी पास भएसँगै कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउन बाटो समेत खुलेको छ ।