महेन्द्रनगर : सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अठार घण्टा देखि अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत कैलालीको गोदावरी देखि खानीडाँडासम्म बिभिन्न स्थानमा पहिरो गएको छ ।
बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिँएपछि यातायात अवरुद्ध भएको हो । पहिरोका कारण राजमार्ग चर्किएर भासिएको छ । राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको यातायात पनि ठप्प छ ।
पहाडबाट तराई झर्ने र तराईबाट पहाड जाने सबै सवारी साधन बाटोमा रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । विभिन्न कामले पहाडबाट तराई झर्ने यात्रुहरु कैलालीको बुढितोलासम्म यातायातका साधनमा आएपनि त्यहावाट गोदावरीसम्म आउन सकिरहेका छैनन ।
कोही १ घण्टाको उकालो छिचोलेर वारिपट्टी हिडेरै आईरहेका छन भने विरामी, अशक्त भने अलपत्र परेको स्थानीयले बताएका छन । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ । तर, माथिबाट पहिरो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन चुनौती भईरहेको छ । गएराति आएको बाढिले गोदावरी नदी किनारमा रहेका पसल तथा अस्थायी टहराहरु बगाएको छ ।
विगत लामो समयदेखि गोदावरी नदी किनारको मन्दिर क्षेत्रमा व्यापार गर्दै आएकाहरुले सोमवार राति देखि परेको अविरल वर्षाका कारण आएको बाढिले सबै पसल तथा सामान वगाएर लगेको बताएका छन ।
अवरुद्ध रहेको बाटो डोजर र स्काइभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भईरहेको छ भने अशक्त विरामी हरुलाई नेपाली सेनाले वारी, पारी गराउन मद्दत गरिरहेको छ । संघीय सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख हरि प्रसाद सुवेदीले अत्तरिया(डडेल्धुरा सडक खण्डको विभिन्न क्षेत्रमा गएको पहिरोले वाटो अवरुद्ध भएको र कैलालीको बुढितोलामा करिव ४ सय मिटर बाटो नै भासिएकोले अवरुद्ध वाटो खोल्न केहि दिन लाग्ने बताएका छन ।
उनले तराईबाट ७ पहाडी जिल्ला जोड्न एक मात्र भीमदत्त राजमार्ग भएकाले यात्रुहरुलाई असहज हुने तर कार्यालयको तर्फवाट जति सक्दो चाडो बाटो सुचारुका लागि तिब्र गतिमा काम गर्ने बताएका छन । अबिरल बर्षाका कारण सडकमाथि बाट पहिरो आई सोमबार राती १२ बजे देखि सडक पुर्ण रूपमा अवरुद्ध भएको हो । सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा आउने सवारी साधन र तराईका जिल्ला तथा काठमाण्डौंका लागि छुटेको सवारी साधन बीच बाटोमै रोकिएका छन् ।