कैलाली : गए राति परेको अविरल वर्षापछि आएको बाढीले जग रहेको क्षेत्र कटान गरेपछि कैलालीको गोदावरी नदीमा रहेको पुल जोखिम अवस्थामा पुगेको छ । स्थानीय प्रशासनले पुल जोखिममा रहेको र जति बेला पनि भत्किन सक्ने भन्दै प्रवेशमा रोक लगाउन निर्देशन दिइसकेको छ ।
मंगलबार निरीक्षण गर्न पुगेका कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख तथा प्रतिनिधिहरूले पुल धरापमा रहेको भन्दै प्रवेशमा रोक लगाउन भनेका थिए । तर, मङ्गलबार साँझसम्म पुलमा सयौं युवायुवतीहरूको घुइँचो लाग्यो ।
प्रशासनले धरापमा रहेको भनेको पुलमा अहिले पनि टिकटक बनाउने र फोटो खिच्नेहरुको भीड लागेको छ । स्थानीयले पुल जति बेला पनि भत्किन सक्ने भन्दै भीड रोक्न आग्रह गरेका छन् ।
‘पुल भत्किन केही इन्चमात्रै बाँकी रहेको र जति बेला पनि भत्किन सक्ने राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य नवराज आचार्य बताउँछन् । उनी भन्छन् ‘भीड नियन्त्रण नगर्ने हो भने ठूलो मानवीय क्षति हुनसक्छ ।’
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने काठे पुल जीर्ण भएपछि नयाँ मोटरेवल पुल निर्माण गरिएको थियो । सवारी चलाउन निषेध गरिएको उक्त पुलमा रङरोगन गरेपछि पछिल्लो समय फोटो खिच्ने र टिकटक बनाउनेहरूको रोजाइमा परेको थियो ।