कैलाली: भारतको जोगवनी आउँदै गरेको रेल (ट्रेन)भित्र एक जना नेपाली बालक बेवारिसे अवस्थामा भेटिएका छन्।
कैलालीको गोदावरी नगरपालिका–२ मालिका टोल घर बताउने १३ वर्षीय विशाल विक रेलभित्र अलपत्र अवस्थामा भेटिएका हुन्। उनलाई विराटनगर ल्याइएको छ। मोरङको ग्रामथान गाउँपालिका–५ का काजी विकले ती बालकलाई सोमबार बिहान विराटनगर ल्याएर रानीस्थित आफन्त नेपाल नामक संस्थाको जिम्मा लगाएका हुन्।
भारतको पञ्जावबाट जोगवनी आउँदै गर्दा नेपाली बालकलाई रेलभित्र बेवारिसे अवस्थामा देखेपछि आफूले ल्याएर संस्थाको जिम्मा लगाएको काजीले बताए।
‘दोहोरो कुराकानीका क्रममा बालकले बुवा–आमासँग केही दिनअघि पञ्जाव घुम्न गएको बताए। सँगै घर फर्किदै गर्दा पानी लिन ओर्लिएका बेला ट्रेनले छाड्यो भनेका छन्,’ उनी भन्छन्, ‘बालकको अवस्था देख्दा धेरै माया लाग्यो। अलपत्र छाड्न हुँदैनभन्ने लागेर सहयोग गरेको हुँ।’
बालकले आफ्नो घर कैलालीको गोदावरी–२ मालिका टोल भएको बताए। बुवा, आमा, दिदी र भाइसँग केही दिनअघि पञ्जाव घुम्न गएको उनले बताएका छन्।