धनगढी: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघमा दरबन्दी भएर कामकाजमा सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकहरुलाई फिर्ता बोलाएको छ ।
विशेषज्ञ चिकित्सकहरुलाई अन्यत्र पठाउदा सेती प्रादेशिक अस्पतालको सेवा प्रवाहमा समस्या आएको छ । कामकाजमा कार्यरत ४ जना विशेषज्ञ चिकित्सक र छात्रवृत्ति करारमा रहेका ४ जना विशेषज्ञ चिकित्सक गरी ८ जनालाई संघीय सरकारले फिर्ता बोलाउने निर्णय गरेसँगै सेतीमा सञ्चालित दैनिक स्वास्थ्य सेवामा प्रवाहमा समस्या परेको अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायले बताए ।
अस्पतालका अनुसार छात्रवृत्ति करारमा रहेका एमडिजीपी डा. गणेश फुलारा, प्याथोलोजिष्ट डा. वर्षा आचार्य, मुटुरोग विशेषज्ञ डा. विप्लव कार्की र स्त्री रोग विशेषज्ञ डा. श्रृष्टि जोशी छन् । त्यसैगरी, संघमा दरबन्दी भएर सेती प्रादेशिक अस्पतालमा काजमा रहेका वरिष्ठ रेडियोलोजिष्ट डा. होम पन्थ, प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. जगदीश बिष्ट, शल्यचिकित्सक डा. शंकर अधिकारी र अर्थोपेडिक सर्जन डा. मोहन नाथ रहेका छन् ।
उनीहरु सबैलाई मन्त्रालयले फिर्ता बोलाएको छ । स्त्री तथा प्रसुति रोग विशेषज्ञ ५ जना चिकित्सकमध्ये २ जना फिर्ता जाँदा सेवा प्रवाहमा समस्या भएको र बिरामीको संख्या पनि बढिरहेको सुचना अधिकारी उपाध्यायले बताए । ‘स्त्री तथा प्रसुति रोग विभागमा बिरामीको संख्या बढी हुन्छ । उक्त सेवा नै प्रभावित नै भएको छ,’ उनले भने, ‘अल्ट्रासाउण्ड सेवा चिकित्सकको ब्यवस्था नभएकाले बन्द नै हुने स्थितीमा छ ।’ साधारणतर्फ १ सय ६ जनाको दरबन्दी रहेकोमा ५१ जना स्थायी र १५ करारमा जम्मा ६६ मात्र कार्यरत छन् भने ४० जनाको दरबन्दी रिक्त छ ।
यस्तै, अस्पताल विकास समितिको ८६ जम्मा दरबन्दीमध्ये २९ स्थायी र २० जना करारका कर्मचारी गरी ४९ जना अस्पतालमा कार्यरत छन् भने दरबन्दी भएर पनि ३७ जना कर्मचारीको अभाव छ । ४० वर्षदेखि ५० शैय्याको मात्र स्वीकृत दरबन्दी रहेकोमा हालसम्म थप दरबन्दी सिर्जना भएको छैन । अस्पताल विकास समितिले थप ७५ शैय्याबाट सेवा दिइरहेका छ ।
स्वीकृत दरबन्दीमा रहेको रिक्त रहेको पदमा पदपूर्ति गर्न आवश्यक पहलको लागि सामाजिक विकास मन्त्रालयमा लेखी पठाएको र करारमा विज्ञापन गर्दा समेत आवेदन नै नपर्ने समस्या रहेको सूचना अधिकारी उपाध्यायले बताए । १७ असारमा स्वास्थ्य मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै १ साउनदेखि लागु हुने गरी काजमा रहेका कर्मचारीलाई आफ्नो दरबन्दीमा फर्किन निर्देशन दिएका थिए । जसमा प्रदेश तथा स्थानीय तहहरूमा समायोजन भएर समायोजन भएको तहमा रमाना लिई नगएका चिकित्सक र स्वास्थ्यकर्मीलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १२० बमोजिम समायोजन भएको निकायमा ७ दिनभित्र रमाना दिई जानकारी दिनसमेत निर्देशन दिइएको थियो ।
यसैगरी, प्रदेश र स्थानीय तहमा समायोजन भई सङ्घको विभिन्न निकायमा कामकाजमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समायोजन भएको तत् तत् तहमा सात दिनभित्र काज फिर्ता गरी सो जानकारी मन्त्रालयमा दिन निर्देशन दिइएको थियो । मन्त्रालयको निर्णयपछि केही कर्मचारीहरू काजमा रहेको ठाउँबाट रमाना बुझी खटाइएको ठाउँमा गइसकेको छन् भने केही जाने तयारीमा छन् ।
दरबन्दीअनुसार कर्मचारी नभएको समयमा सेवा प्रवाह गरिरहेका काजका चिकित्सकहरुपनि फिर्ता जाँदा सेती प्रादेशिक अस्पतालमा इमर्जेन्सी, ओ.पी.डी, सिटीस्क्यानदेखि शल्यक्रियासम्मका अत्यावश्यक सेवाहरू समेत प्रभावित भइरहेका छन् । विशेषज्ञ चिकित्सक २२ जनाको दरबन्दी रहेकोमा यहाँ ७ स्थायी र १ करारका गरी ८ जनाको मात्रै पदपूर्ति भएको छ भने १४ जना चिकित्सक अस्पतालले पाउन सकेको छैन । यस्तै, मेडिकल अधिकृततर्फ पनि ७ जनाको दरबन्दी रहेकोमा १ जना मात्रै कार्यरत छन् भने बाँकी ६ जनाको दरबन्दी रिक्त छ ।