अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ४ मा पहिरोले भत्किएको सडकको ट्र्याक खोल्ने काम सकिएको छ । पहिरोले भत्किएको करिब ४ सय मिटर सडकको ट्र्याक खोल्ने काम सकिएको हो ।
साउन २२ गते राति परेको बर्षाका कारण आएको पहिरोले बुढीलोलास्थित बाख्रा फार्मभन्दा करिब ३ सय मिटर दक्षिण अत्तरिया तर्फ भावर भन्ने ठाउँको पहिरो सडक बगाएको थियो ।
४ दिन लगाएर सो क्षेत्रमा सडकको ट्र्याक खोल्ने काम सकिएको भएपनि सवारी साधन भने चल्न सक्ने अवस्था नरहेको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । ट्र्याक खुलेको भएपनि हिलाम्मे भएका कारण सवारी साधन चलाउन सक्ने अवस्था नरहेकोले रोक लगाइएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर यिपूस चटौतले बताएका छन । उनले ट्र्याक खोलेको सडक हिलाम्मे भएकाले ढुंगा भर्ने, ग्राभेल भर्ने काम भइरहेको बताए ।
‘ट्र्याक खोलेको सडक माथि पानीको मुल फुटेकाले सडक सुख्खा हुन पाएको छैन’ उनले भने ‘पहिरो पछि हाल उक्त क्षेत्रको माटो नै पुरै गिलो भएर बसेको छ । जमेको पानी निकाल्ले काम भएपनि माटो गलेर हिलो भएकाले त्यसलाई सुक्नको लागि एकदुई दिन कुर्नुपर्ने देखिएको छ ।’
उनले अहिले ट्र्याक खोलेको सडकमा मानिस हिड्न सक्ने अवस्था पनि नभएको बताए । सडकमा ग्राभेल हालेपनि माटोमा पानीको मात्रा धेरै भएकाले माटोमै विलाउने गरेको बताए ।
‘अब एकदुई दिन बर्षा भएन भने र माटो सुख्खा भएमा गाडी चलाउन मिल्ने उनले बताए ।
सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने मुख्य राजमार्गमा अवरूद्ध हुँदा अहिले प्रदेशका तराई र पहाड जिल्ला बीचको सम्पर्क टुटेको छ । यद्दपी अत्यावश्यक कामका लागि हिडेका यात्रु भने सडक अवरुद्ध भएको ठाउँसम्म एकतर्फी गाडीमा यात्रा गरेर सो ठाउँमा हिडेर अर्को सवारी साधनमा यात्रा गरिरहेका छन ।