धनगढी : नेकपा एमालेको जनसंगठन विभाग प्रमुख भानुभक्त ढकालले जनवर्गीय संगठनले युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
शनिबार धनगढीमा अखिल नेपाल किसान महासंघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमालेका स्थायी कमिटि सदस्य समेत रहेका ढकालले युवाहरुलाई लक्षित गरेर कार्यक्रम बनाएर कार्यान्वयनमा लैजान आवश्यक भएको बताएका हुन् ।
पार्टीले २०८४ सालमा हुने आम निर्वाचनमा एकल बहुमत ल्याउने उद्देश्यसहित मिसन ग्रोसरुट जस्ता अभियान सञ्चालन गरेको बताउँदै ढकालले जनवर्गीय संगठनले समेत पार्टीको नीतिलाई टेवा पुग्ने खालका कार्यक्रम ल्याउनुुपर्ने धारणा राखे ।
२०७९ को निर्वाचनमा एमालेले युवा पुस्ताको मत अपेक्षाकृत रुपमा पाउन नसकेको बताएका ढकालले अगामी निर्वाचनमा युवा पुस्ता नै निर्णायक हुने भन्दै त्यसलाई ख्याल गरेर नीति अघि सार्नुपर्ने जनाएका छन् ।
‘अघिल्लो चुनावमा हामीले युवा पुस्ताको मत अपेक्षाकृत रुपले पाउन सकेनौँ । निकै कम पायौँ,’ ढकालले भने, ‘अब अहिले १४ वर्षमा हिडिरहेका किशोरकिशोरी अगामी निर्वाचनसम्म मतदाता भइसक्छन् । त्यसकारण युवा पुस्तालाई लक्षित गरेर कार्यक्रम ल्याउनुपर्छ । जसले हामीलाई अगामी निर्वाचनमा बहुमत ल्याउन सहयोग पुग्नेछ ।’
उनले अब कुन संगठनले के–कति सदस्यता बृद्वि गरेको छ रु भन्ने हिसाबले जनसंगठनको मूल्यांकन गर्ने समेत बताए । धनगढीको सोराई पार्टी प्यालेसमा चलिरहेको किसान महासंघको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।