धनगढी: धनगढीको नन्दिनाज एकेडेमीमा अध्ययनरत विद्यार्थी चकबल प्रतियोगितामा भाग लिन ताइवान जाने भएका छन्।
भदौ १ गतेदेखि ताइवानको राजधानी ताइपेइमा हुने दोस्रो एसिया प्रशान्त बिच चकबल च्याम्पियनसिपमा भाग लिन १५ वर्षमुनिको १२ जना खेलाडीको टोली ताइवान जाने भएको हो।
नेपाल, भारत, मलेसिया, हङकङ, ताइवान र सिङ्गापुर लगायतका ९ देशको सहभागिता रहने च्याम्पियनसिपमा भाग लिन नेपालबाट यो वर्ष नन्दिनाज एकेडेमीका खेलाडी छनोट भएका हुन्। चकबल च्याम्पियनसिपमा भाग लिन रोजन शाही, आशिष खडका, कर्णवीर बिष्ट, मोहम्मद ओइस आलम, प्रतीकसिंह टेर, सात्विक ठाकुर, प्रिन्स बाइक, वर्षा बिष्ट, दिव्या नेपाली, स्मारिका सिजापती र निष्ठा भट्ट छनोट भएका छन् ।
तीन दिनसम्न हुने अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भाग लिन जान लागेका खेलाडी र व्यवस्थापकको टिमलाई एक समारोहका बिच सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले बिदाइ गरेका छन्।
सामाजिक विकास मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा मन्त्री साउँदले खेलाडीहरूलाई जितको शुभकामना दिँदै राष्ट्रको नाम राख्न र देशको पहिचान बनाएर आउन आग्रह गरेका छन्।
बालुवामा खेलिने चकबल च्याम्पियनसिपमा भाग लिन ५ छात्रा र ७ जना छात्रसहित १२ जनाको खेलाडी टोली ताइवान जान लागेको नन्दिनाज एकेडेमीका प्रवन्ध निर्देशक महेश बिष्टले बताए। खेलाडी विद्यार्थीहरूले तीन दिनसम्म खेल प्रतियोगितामा भाग लिने छन् भने एक दिन ताइपेइको खेलकुद एकेडेमी र विद्यालयहरूको भ्रमण गर्नेछन्।
यस्तै, विद्यार्थीहरूलाई एक दिन सिङ्गापुरको भ्रमण गराउने कार्यक्रम तय भएको बिष्टले बताए।खेलाडी र व्यवस्थाकसहित १६ जनाका लागि प्रति व्यक्ति २ लाख खर्च हुने र त्यो खर्च विद्यालयले बहन गर्ने प्रवन्ध निर्देशक बिष्टले बताए। बिदाइ कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो भने खेलाडी र तिनका अभिभावकको उपस्थिति रहेको थियो।