धनगढी: धनगढीमा औषधी व्यवस्था विभागले प्रचलित ऐनअनुसार सञ्चालनमा ल्याइएका पाँच वटा क्लिनिकमा ताला लगाएको छ।
धनगढी उपमहानगरपालिका क्षेत्रमा शुक्रबार र शनिबार गरिएको अनुगमन निरीक्षणका क्रममा दर्ता नगरेर सञ्चालन गरिएका दुई वटा क्लिनिकमा ताला लगाउदै सिलबन्दी गरेको छ भने दुई क्लिनिकमा निलम्बन गरेको छ। एउटा क्लिनिकको सञ्चालक नभएकाले तत्काल बन्द गरिएको छ।
औषधी व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरीक्षक दिपेन्द्रकुमार शाहले दर्ता बिना सञ्चालन गरिएको धनगढी उपमहानगरपालिका–३ को अर्जुन क्लिनिक र धनगढी–१४ को प्रतिभा क्लिनिकमा ताला लगाउदै सिलबन्दी गरिएको जानकारी दिए।
शाहले खुद्रा औषधी पसलमा बिक्रि वितरणमा रोक लगाएको औषधी सञ्चय गरेको धनगढी–४ को आर्दश मेडिकल हलमा ताला लगाएर १४ दिन, दर्ता नभएको औषधी बिक्रि गर्ने स्वपनील मेडिकल हललाई ७ दिनका लागि निलम्बन गरिएको बताए।
उनकाअनुसार धनगढीको अस्पताल लाइनमा रहेको रघु मेडिकल स्टोरको सञ्चालक नभएको कारण तत्काल पसल बन्द गर्दै ७ दिनभित्र कारवाहीका लागि औषधी व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। यस्तै, धनगढीको सारथी अस्पतालले प्रमाणपत्रमा उल्लेख भएको फर्मासिस्ट भन्दा अर्को फर्मासिस्टबाट औषधी बिक्रि गराएको र लागु तथा मनोदिपक औषधीको रेकर्ड दुरुस्त नराखिएको पाइएपछि निजलाई औषधी व्यवस्था विमागमा उपस्थित गराउन निर्देशन दिएको शाहले बताए।
धनगढी –८ को आशा फार्मेसीमा साइनबोर्ड नभएको, दर्ता नभएको औषधी सञ्चय गरेको, लागु तथा मनोदिपक औषधीको रेकर्ड दुरुस्त नराखेको पाइएपछि कारवाहीका लागि औषधी व्यवस्था विभागमा बोलाइएको छ। अनुगमनका क्रममा क्याम्पस चोकको जया मेडिकल हलले विभागको ऐनअनुसार बिल फर्मेट नगराखेको पाइएकाले तत्काल सच्याउन निर्देशन दिइएको छ।
औषधी व्यवस्था विभागले स्थानीय प्रशासनसँगको समन्वयमा नियमित निरीक्षण अन्तरगत मेडिकल तथा औषधी पसलमा अनुगमन निरीक्षण गरेको जनाएको छ।