कैलाली– जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीको काठमाडौंमा काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंले अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौंमा काज सरुवा गरेको हो ।
एसपी अधिकारी कैलाली आएको नौं महिनाको अवधिमा काजमा सरुवा भएका हुन् । उनको सरुवासँगै प्रहरी प्रधान कार्यलाय काठमाडौं नक्सालबाट सोमेन्द्रसिंह राठौर कैलालीको एसपीमा आउने भएका छन् ।
एसपी अधिकारीले आफू काजमा सरुवा भएसंगै उनले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो कार्यकालको प्रगति विवरण पनि सार्वजनिक गरेका छन् । प्रगति विवरण अनुसार उनको कार्यकालमा चालु आर्थिक वर्ष २०७८÷०७९ को नौँ महिनामा यस जिल्लामा जम्मा १०२४ मुद्दा दर्ता भएका छन् ।
गत आर्थिक वर्ष नौ महिनामा मुद्दा दर्ता भएका संख्या १०२४ को तुलनामा यो संख्या ६.६३ प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै कर्तव्य ज्यान सम्बन्धी मुद्दामा १४ वटा मुद्दा दर्ता गरिएका छन् भने गत आर्थिक वर्षको नौ महिनामा १२ ओटा मुद्दा दर्ता गरिएका छन् ।
एसपी अधिकारीले ज्यान मुद्दाका धेरै केशमा कैलाली प्रहरीले सफलता प्राप्त गरेको बताए । यद्यपि अर्जुन दासको केशमा भने दोषी अझै फरार रहेको उनले बताए । यस्तै भूपेन्द्र बडुवालको केशमा भने १३ जना अदालतको आदेशमा पूर्पक्षमा रहेको र केही ब्याक्ति अझै फरार रहेकोे बताए ।
यस्तै लागुऔषध शीर्षकमा १११ वटा मुद्दा दर्ता भएको प्रगति विवरणमा उल्लेख छ । जस अनुसार नौ जना महिला, १६१ जना पुरुष गरी जम्मा १७० जना पक्राउ गरी अनुसन्धान गरिएको छ ।
गत आर्थिक वर्षको नौ महिनामा सोही शीर्षकमा ७६ वटा मुद्दा दर्ता भई ४ जना महिला, ९७ जना पुरुष गरी जम्मा १०१ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो जुन यो संख्या ४६.०५ प्रतिशतले बढेको कार्यालयको तथ्याङ्कले देखाएको हो ।
चालु आर्थिक वर्षको नौ महिनामै अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरू ६६ जना र अनुसन्धानको क्रममा फरार रहेका २५ जना गरी जम्मा ९१ जना फरार प्रतिवादीहरू पक्राउ गरेको छ ।
यस्तै गत आर्थिक वर्षको नौ महिनामा अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरू ४८ जना र अनुसन्धानको क्रममा फरार रहेका २२ जना गरी जम्मा ७० जना फरार प्रतिवादीहरू पक्राउ गरिएको कैलाली प्रहरीको प्रगति विवरणमा उल्लेख छ ।
यस्तै भन्सार छली, चोरी निकासी तथा पैठारी नियन्त्रण अन्तर्गत एक करोड २० लाख ७५ हजार ८ सय ८० राजश्व सङ्कलन गरिनुका साथै १२ जनालाई पक्राउ र १० वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । आर्थिक वर्षमा सोही अवधिमा ९७ लाख ५६ हजार ८ सय ९८ राजश्व सङ्कलन गरिनुका साथै ८ जनालाई पक्राउ र १७ वटा सवारी साधन नियन्त्रण गरिएको थियो । जुन गत वर्षको तुलनामा यस आर्थिक वर्षमा २३.७६ प्रतिशतले राजश्व बढेको देखिएको छ ।
यस अवधिमा अपराधमा संलग्न ७२ जना महिला र १०९१ जना पुरुष गरी जम्मा ११६३ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको जनाइएको छ । यस्तै समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत ‘हाम्रा प्रहरी सँग हामी’ कार्यक्रम तथा हाम्रा सन्ततिको भविष्य बचाउ अभियान अन्तर्गत विभिन्न विद्यालय तथा अन्य स्थानहरूमा जम्मा ४४० वटा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।