धनगढी- कैलालीमा झण्डै साढे तीन लाख बराबरको अवैध सामानसहित तीन जनालाई पक्राउ गरिएको छ ।
धनगढी उपमहानगरपालिका-२ र ३ बाट भारतबाट अवैध सामान ल्याइरहेको अवस्थामा उनीहररूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-१२ बस्ने ४० वर्षीय आशाराम चौधरी, धनगढी उपमहानगरपालिका-२ बस्ने निशा बिष्ट र ३५ वर्षीय रत्ना नाथ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए ।
उनकाअनुसार घोडाघोडीका चौधरीले भारतबाट ल्याएको अवैध सामान घर गोदाममा राख्दै गरेको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट चटकपुरको टोलीले नियन्त्रणमा लिएको हो । उनको साथबाट ७९ जोर जुत्ता, ३६ जोर जुत्ताको लेस, ४ पिस लेदर र २ पिस आर्मी रंगको झोला तथा १७ पिस जेब्रा झोला गरेर एक लाख ७६ हजार दुई सय रूपैयाँको सामान बरामद गरिएको छ ।
यस्तै सुपप्र ०१-००१ ह ४०४६ नम्बरको अटो चालक निशा र रत्नाको साथबाट पनि एक लाख ६२ हजारको अवैध सामान बरामद गरिएको छ । उनीहरूले ल्याएका ईग फ्रि क्रिम ५ प्याकेट, क्रिम २४ प्याकेट, १२ पेटी सुनपापडी मिठाइँ बरामद गरिएको हो ।
अवैध सामानसहित नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको छ ।