डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग विगत एक सातादेखि अवरुद्ध हुँदा पहाडी जिल्लामा डिजेल, पेट्रोल र एलपी ग्यासको अभाव भएको छ। पहिरोका कारण कैलालीको गोदावरी नगरपालिका–४, बुढीतोला क्षेत्रको सडकखण्ड अवरुद्ध भएको हो।
साउन २३ गते बिहान खसेको पहिरोले सडक अवरुद्ध हुनका साथै भासिएको छ। सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्र्याक खोलिए पनि हिलाम्मे सडकमा यातायात सेवा सञ्चालन हुन सकेको छैन।
तराई र पहाड जोड्ने मुख्य राजमार्ग एक सातासम्म अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री ढुवानीमा पनि समस्या भएको व्यवसायीले बताएका छन्। यातायातका साधन सञ्चालन नहुँदा डिजेल र पेट्रोलको अभाव चुलिएको छ।
एकसातामा डिजेल र पेट्रोल बोक्ने ट्याङ्करले डडेल्धुराका दुई वटा पेट्रोल पम्पमा आठ पटक तेल आसोर्ने गरेको बताइन्छ।
चार पटक ट्याङ्कर आउँदा ४ हजार लिटर डिजेल र पेट्रोल आउने गरेको अमरगढी नगरपालिका–१ स्थित सहस्रलिङ्ग वीरबेतार आयल स्टोरका सञ्चालक राजु ऐरले बताए। तराई पहाड जोड्ने मुख्य राजगमार्ग अवरुद्ध भए पनि जिल्लाका अन्य सडक सञ्चालनमै रहेका छन्।