काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिएको ब्रेक शुमा बरामद गरिएको सुनको तौल ६० किलो ७८९ ग्राम भएको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार साउन २ गते सिनामंगलबाट बरामत गरिएको सुन आज ब्रेक शुबाट छुट्याएर जोख्दा ६० किलो ७८९ ग्राम भएको हो । राष्ट्र बैंक, अनुसन्धान विभाग र सिआइबीको रोहबरमा सुनको पगालेर जोखेको थियो ।
राजश्व अनुसन्धान विभागले सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । अब त्यो सुनलाई यिनै निकायका प्रतिनिधिको रोहबरमा भोलि मंगलबार बिहान साढे १० बजे गालिने आचार्यले जानकारी दिए ।
सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो । सीआईबीले संगठित अपराध र राजश्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।