धनगढी: गौरा पर्व भदौ ७ गते मनाइने भएको छ । पर्व मनाउन नेपाल सरकारले भदौ ७ गते सुदूरपश्चिम प्रदेशमा एक दिन र प्रदेश सरकारले भदौ ७ र ८ गते गरेर दुई दिन बिदा दिएको छ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त सम्पूर्ण नेपालभरका पचाञ्ङ्गहरुमा २०८० साल भदौ ७ गते गौरा पर्व मनाउन उत्तम रहेको निष्कर्ष निकालेका थिए । सो निष्कर्ष गत पुस २५ मै स्वीकृति भएको थियो ।
यसैबीच शुभ पञ्चाङ्ग परिवारका पञ्चाङ्गकार ज्यो दामोदर अँठोला जोशीले एक प्रेस विज्ञप्ति जारी गरेर भदौ ७ गते भव्यरुपमा गौरा पर्व मनाउन आग्रह गरेका छन् । गौरामा डेउडा खेल्ने र प्रसादको रुपमा विरुडा ग्रहण गर्ने चलन छ ।
सो पर्व सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बैतडी, दार्चुला तथा तराईका कैलाली, कञ्चनपुर र काठमाडौँमा समेत विषेश रुपमा मनाइने गरिएको छ । दुर्वाष्टमीमा सुरु हुने गौरा पर्व ठाउँअनुसार चार दिनसम्म मनाइने गरिन्छ ।