डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका- १ का पहिरो पीडित विगत केही समयदेखि विद्यालयमा बसिरहेका थिए। मालागाँउ र भोकागाउँका २२ परिवार साउन ८ गतेदेखि जनज्योति आधारभूत विद्यालयमा बसोबास गरिरहँदा विद्यालयको पठनपाठन प्रभावित बनेको थियो।
तर, हिजो उनीहरुलाई टेन्ट बनाएर नजिकको सुरक्षीत टाँक भन्ने स्थानमा सारिएको छ। गृह मन्त्रालयले प्रदेश सरकारमार्फत जिल्ला दैवीप्रकोप उद्दार समितिलाई पठाएको २२ टेण्ट सुरक्षीत स्थानमा लगाएर अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो।
उनीहरुको स्थानान्तरण गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का र जिल्ला सुरक्षा समितिको टोली पहिरो प्रभावित गाउँमा पुगेको थियो।
पीडित परिवारलाई रुडुक डडेल्धुराले ४२ वटा कम्बल र २२ बाल्टिनसमेत हस्तान्तरण गरेको छ। यस्तै एमपिडिएस र आस्था नेपालले २२ सुधारिएको चुलो पनि हस्तान्तरण गरेको छ।
हाललाई टेन्टमा व्यवस्थापन गरेकोमा पहिरो पीडितले आभार प्रकट गर्दै छिट्टै स्थायी बसोबासको व्यवस्था मिलाउन माग गरेका छन्।
अस्थायी बसोबासको व्यवस्था मिलाएपछि उनीहरुलाई बाचा गर्दै सांसद खड्काले स्थायी बसोबासको व्यस्थापनका लागि आफुले सक्दो पहल गर्ने बताइन्। ‘हामी प्रावधान अध्ययन गरेर सुरक्षित स्थानमा सार्न संघीय र प्रदेश सरकारमा माग गर्छौ। त्यसपछि स्थायी बसोबासको व्यवस्थासमेत मिलाउन प्रयास गर्नेछौं’ उनले भनिन्।