धनगढी: सुदुरपश्चिम प्रदेशका तत्कालीन निमित्त वन निर्देशक कृष्णदत्त भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीलाई तथानाम गाली गरेको अडियो सार्वजनिक भएको छ।
निमित्त निर्देशक भट्टले मन्त्री धामीले आफूलाई सरुवा गर्न खोजेको भन्दै अश्लील शब्द प्रयोग गर्दै गाली गरेको अडियो बाहिरिएको हो। उनले मन्त्री धामीमाथि तथानाम अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेका छन्।
भट्टले निर्देशनालयमा बस्दा काम पनि राम्रो नगरेको र विवादित भएको भन्दै वन मन्त्रालयले उनको सरुवा गर्न खोजेको स्रोतको दाबी छ। भ्रष्टाचार मुद्दामा सफाई पाएपछि तत्कालीन समयमा वन निर्देशक रहेका हेमराज बिष्टले जिम्मेवारी सम्हालेपछि आक्रोशित भएका भट्टले मन्त्रालयकै एक कर्मचारीलाई टेलिफोन गरेर धामीमाथि खनिएका हुन्।
तर ती कर्मचारीको नाम खुलाइएको छैन। सार्वजनिक अडियोमा वन निर्देशक भट्टले बोलेका शब्द समाचारमा उल्लेख गर्न सकिने खालका छैनन्। सार्वजनिक अडियोबारे प्रतिक्रिया लिन तत्कालीन निमित्त निर्देशक भट्टलाई फोन गरिएपनि उनले उठाएनन्।
यता वन मन्त्री धामीको सचिवालयले सार्वजनिक अडियोबारे ध्यानाकर्षण भएको जनाएको छ। उनका स्वकीय सचिव रमेश भट्टराईले सार्वजनिक अडियोमा मन्त्री धामीका बारेमा व्यक्त गरिएको कुरामा कुनै सत्यता नरहेको दाबी गरेका छन्।